सर्लाही-गत आइतबार साँझ बारामा विनाशकारी हावाहुरीका कारण पिडित परिवारलाई क्रियटिभ युथ क्लवले राहत सामग्री वितरण गरेको छ ।
बुधवार सर्लाहीको बागमती स्थित क्रियटिभ युथ क्लवले जिल्लाका विभिन्न सहयोगी दाताहरुबाट प्राप्त गरेको रकमबाट पिडित परिवारलाई खाध्यन्न तथा झुल बितरण गरेको हो । संस्थाले पिडित ८० परिवारको लागी उक्त सामग्री लिएर प्रभावित क्षेत्र बाराको फेटा गाँउपालिका पुगेको थियो ।
बागमती नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तानको नेतृत्वमा पुगेको टोलीले कलैया उपमहानगरपालिका स्थित तेलगाईका अत्यन्त पिडित परिवारलाई घर घरमै गएर प्रति परिवार एक÷एक थान झुल, ५ किलो चिउरा र चाउचाउ वितरण गरेको क्लवका अध्यक्ष ओम बहादुर कार्कीले जानकारी दिनु भएको छ ।
क्लवका बागमती नगर संयोजक सन्तोष गदाल, समाजसेवी टंक माया प्रसाई, कृष्ण प्रधान, सुमित भण्डारी लागाएतको टोली राहत वितरण कार्यमा सहभागी रहेको क्लवले जनाएको छ । क्लवले विपद्को समयमा सामाजसेवीहरुको सहयोगमा पिडित परिवारलाई राहत वितरण गदै आएको छ ।
राष्ट्रनै विपद्मा परेको समयमा सानो भएपनि पिडित परिवारलाई सहयोग गर्नु सबैको दायित्व हुने क्लवका अध्यक्ष कार्कीले बताउनु भयो । राहत वितरण पश्चात टोलीमा सहभागी बागमती नगरपालिकाकी उपमेयर मोक्तानले सहयोगी दाताहरु प्रति आभार प्रकट गर्नु भएको छ । पिडित परिवारको पिडामा मलम पट्टी गर्ने कार्यमा सम्पुर्ण नेपाली एक जुट हुनुपर्नेमा समेत उहाँले जोढ दिनुभयो ।
आइतबार साँझ बारा र पर्सामा चलेको विनाशकारी हावाहुरीका कारण २८ जनाको ज्यान गएको छ । भने हावाहुरीका कारण ६७८ जना घाइते भएका छन् । बाराको कलैया उपमहानगरपालिको वडा नम्बर १२ र १८, फेटा गाउँपालिकाको वडा नम्बर १, ६ र ७ हावाहुरीबाट बढी प्रभावित भएको केन्द्रले जनाएको छ ।
यसैगरी बाराकै प्रसौनी गाउँपालिकाको वडा नम्बर ४ र ६, महागढीमाई नगरपालिकाको ७, देवताल गाउँपालिकाको ७, पचतौरा नगरपालिकाको ७ र २, परवानीपुर गाउँपालिकाको वडा नम्बर ४ र सुवर्ण गाउँपालिकाका वडा १, ४, ५ र ८ मा पनि हावाहुरीबाट जनधनको क्षति पुगेको छ ।
हावाहुरीले पर्साको वीरगञ्ज महानगरपालिकाको वडा नं १८ र २२ तथा बौदरमाई नगरपालिकाको वडा नं ४ पनि प्रभावित भएको छ । पर्सामा मात्रै १२२ वटा घरमा पूर्ण र ३८७ वटा घरमा आंशिक क्षति भएको छ । तीनवटा विद्यालय, तीनवटा उद्योग र दुईवटा मन्दिर र मस्जिद पनि भत्किएका छन् ।
चारसय ४४ डिस्चार्ज, २३४ को उपचार चल्दै
६७८ जना घाइतेमध्ये चारसय ४४ जना उपचारपछि घर फर्किएका छन् । अरु २३४ घाइतेहरुको बारा, पर्सा र काठमाण्डौका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।