सरिता सापकोटा सर्लाही मंसिर २७ सर्लाहीमा ब्यवसायीक कुषी गर्न चाहाने युवाहरुकोे लागी माछापालन संभावनाको केन्द्र बन्दै गएको छ ।
केही वर्ष पहिले सम्म आफ्नो जिल्लामा मात्र सीमित रहेको सर्लाहीको माछाको बजार अहिले लाहान, विराटनगरदेखि छिमेकीमुलुक भारतसम्म बिस्तार भएको छ । यसबाट आर्थिक लाभका साथै युवाहरु रोजगारीका लागि विदेशीनेक्रम समेत घट्दै गएको छ । तर, आवश्यक सडक, बिजुली लगायत भौतिक सुविधा र परामर्श नपाउदा समस्या हुने गरेको उनिहरुको भनाई छ ।
आवश्यक परामर्शका लागि भारतीय चिकित्सकको भरपर्नुपरेकोे उनिहरुले गुनासो गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाइ अन्तर्गत् रहनेगरी माछा ब्लक नै स्थापना गरेर माछा पालन सुरु गरेको सर्लाहीको ईश्वरपुर लगायतका क्षेत्रमा विषयगत कार्यालयहरु स्थानीय निकायमा गएसँगै काम गर्न केही समस्या भएको उनिहरुको गुनासो छ ।
अहिलेपनि परियोजना कार्यान्वयन ईकाइले किसानका लागि भनेर तालिम र बजार ब्यवस्थापनको काम गरिरहेको परियोजनाका अध्यक्ष ध्रुवप्रसाद ढकालले बताउनु भयो । माछापालनमा प्रसस्त सम्भावना देखेर ईश्वरपुर नगरपालिका कार्यलयले समेत १ देखी ३ नम्बर वडालाई माछा पकेट क्षेत्र घोषणा गरी माछा विशेषज्ञ पठाउन प्रदेश र केन्द्र सरकारसँग आग्रह गरेको जनाइएको छ ।
माछा पालक किसानलाई नगर आफैंले भएपनि माछा बिशेषज्ञ उपलब्ध गराउने प्रयास गरिरहेको ईश्वरपुरका नगरप्रमुख मनोजकुमार देवकोटाले बताउनुभयो । हाल सर्लाहीमा करिब एक हजार हेक्टर क्षेत्रफलमा निर्माण भएको पोखरीमा माछापालन हुँदै आएको छ । यसबाट प्रतिहेक्टर ५.५ मेट्रिकटन बराबर माछा उत्पादन हुने गरेको तथ्यांक छ ।