सरिता सापकोटा सर्लाही मंसिर २५ बागमती नगरपालिका कार्यलयले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न बिद्यालय मुल्यांकन सुचक तयार गरेको छ ।
नगरपालिका कार्यलययले लिएको शैक्षिक विकासको लक्ष्य पुरा गर्नकोलागी बिद्यालय मुल्यांकन सुचक आवश्यक परेको नगरपालिका प्रमुख भरत कुमार थापाले जानकारी दिए । नगरपालिका कार्यलयले प्रथमीक बिद्यालय र माध्यामिक बिद्यालय गरी १ सय ४० र १ सय ५० पुर्णाङ्क सहितको मुल्यांकन सुचक तयार पारेको हो ।
कार्यलयले मंगलवार आयोजना गरेको एक औपचारीक कार्यक्रम मार्फत उक्त बिद्यालय मुल्यांकन सुचक सार्वजनिक गरिएको नगरपालिका कार्यलयका कार्यकारी प्रमुख बिमल प्रसाद पोखरेलले बताए । बागमती नगरपालिका कार्यलयले गत आर्थिक बर्ष र यस आर्थिक बर्षलाई शैक्षिक क्रान्तीको बर्षको रुपमा योजना तयार गरेको मेयर थापाको भनाई छ ।
बागमती नगरपालिकामा प्राथमीक बिद्यालय र माध्यामिक बिद्यालय गरी २६ वटा बिद्यालय संचालनमा रहेको छ । जसमा झण्डौ ५ हजार ५ सयको हाराहारीमा बालबालिका अध्यनरत् रहेको तथ्यांक छ । गत शैक्षिकसत्रबाट नगरपालिका कार्यलयको पहलमा कक्षा १ देखी ३ सम्म अंग्रेजी माध्यममा पठनपाठन सुरु भैसकेको छ ।
सुचकको आधारमा उत्कृष्ठ विद्यालयलाई पुरस्कृत गर्ने समेत नगरपालिका कार्यलयले जनाएको छ । बिद्यालय मुल्यांकन सुचक सम्झौता पत्रमा नगरपालिका कार्यलयले बिद्यालयको आयब्याय सार्वजनिक देखी कक्षा कोठाको सजावट, बिद्यालय प्रांगणमा बगैचा, बालबालिकालाई ब्यवहारीक शिक्षा, छात्राहरुलाई सेनेटरी प्याडको ब्यवस्था समेत उल्लेख गरिएको छ ।
नगरपालिका कार्यलयका मेयर थापाको अध्यक्षतामा सम्पन्न सार्वजनिक तथा अन्तरकृया कार्यक्रममा उपमेयर लिलाकुमारी मोक्तान, नगर भित्रका सम्पुर्ण विद्यालयका ब्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, वडाध्यक्ष, राजनितिक दलका प्रतिनिधि तथा नगरपालिका शिक्षा शाखाका प्रतिनिधिको समेत सहभागीता रहेको थियो ।
कार्यक्रमा बोल्दै मेयर थापाले सम्पुर्ण बिद्यालयका ब्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापकहरुलाई आफ्नो तलव सुरक्षित गर्ने बहानामा जनताको छोराछोरीको भबिश्य अन्धकारमा पार्ने अधिकार नभएकोले सचेत रहन आग्रह समेत गर्नु भयो । ‘तपाईहरु पढाउन सक्नुहुन्न भने भन्नुस्’ । मेयर थापाले भने, ‘कसैलाई पनि जनताको छोरा छोरीको भविश्य खराव गरेर तलव भत्ता खाने अधिकार छैन्’ ।