काठमाडौं, मंसिर १६ – संगीतकार कालीप्रसाद बास्कोटा अहिले सफल रचनाकार साथै गायक पनि भएका छन् । पुरानो डुङ्गाको जहिले रिसाउने, लुट टुको ठमेल बजार अहिले चर्चामा रहेका गीत हुन् । जुन केही सहयोगीको सहयोगमा कालीप्रसादले आफै बनाएका हुन् । रेशम फिलिलिको पारि त्यो डाँडामा लगायत उनले गाएका आधा दर्जन बढी गीतले नेपाली संगीत बजारमा एक छत्र प्रभाव पारिरहेको छ । काठमाडौं स्थायी बसोबास भएका संगीतकार कालीप्रसादको संगीत दिनु काम हो भने गायन रहर।
सानै उमेरमा गीत रेकर्ड गराए पनि आफैलाई मन नपरेको कारण कालीप्रसाद संगीतमै अल्झिरहनको लागि गायन छाडेर संगीतमा लागेका थिए । उनका गीतहरु सुन्ने धेरै भएपनि उनको बारेमा थाहा पाउने भने कमै होलान् । कालीप्रसादसँग गरिएको मायाप्रेमदेखि संगीत यात्राको कुराकानी …
जुन गीत गायो त्यही हिट
मैले जुन गीत गायो त्यही हिट हुने भन्ने कुराहरु बजारमा आइरहेको छ । तर मेहनत गर्दा सबै कुरामा सफलता पाइन्छ । अहिलेसम्म झण्डै ६० वटा गीतमा संगीत भरेको छु । ७ वटा गीत गाएको छु । पुरानो डुङ्गा, भ्यालेनटाइन डे, कबड्डी–कबड्डी, रेशम फिलिलि लगायत चलचित्रमा मेरो आवाज र संगीतका गीत छन् ।
म सन् २००६ सालदेखि संगीत क्षेत्रमा लागेको हो । संगीत क्षेत्रमा लाग्नुभन्दा पहिला एसएलसी सकेपछि केही वर्ष संगीत सिकेको थिएँ । त्यही सिकाइले मलाई यहाँ सम्म ल्याइपुर्याएको छ । मैले कमल क्षेत्रीसँग संगीत सिकेको हो । त्यो बेलामा ब्याण्ड बनाउने, एरेन्ज गर्ने भनेर आफ्नै उमेरका टिम बनाएर हिँडियो । गीत रेकर्ड गर्नको लागि पैसा नभएको कारण धेरै साथीहरुले छोडे तर मैलै भने यो क्षेत्र छोड्न सकिन ।
त्यो बेलामा मैले मेरो आवाजमा एउटा गीत रेकर्ड गरेको थिएँ । मेरो जोश, जाँगर र लक्ष्य हो गीत गाउने । तर आफूले गाएको पहिलो गीत नै आफूलाई मन परेन । गायक बन्नको लागि कम्मर कसीयो तर आफ्नो पहिलो गीत आफैलाई मन परेन मेरो पहिलो गीत अहिले मसँग पनि छैन । खोइ गीतको बोल पनि के थियो कुन्नी जे होस् पहिलो गीत नराम्रो भएको कारण म गायन छोडेर संगीत क्षेत्रमा लागेको हो ।
सोचे जस्तो आवाज दिने मान्छे नपाउँदा आफै गायक बने
म राम्रो खालको गायक भन्दा पनि आफ्नै खालको गायक हो । जस्तो खालको गीत मलाई सुहाउँछ म त्यस्तै गीत गाउने गर्छु । संगीत पनि विभिन्न थरीको हुन्छ । संगीतमा पहिला एरेन्जबाट सुरु गरिन्छ । एरेन्ज भनेको संगीतको कम्प्यूटर सम्बन्धी काम हो । गीतमा कस्तो बाजा राख्ने भन्ने, बाजा मिलाउने काम एरेन्जरको हो । कम्पोजरले चै कस्तो धुन कहाँ राख्ने हो भन्ने सबै कुराको बारेमा काम गर्नुपर्छ । कम्पोजर, एरेन्जर फरक भयो भने गीतमा संगीत राम्रो हुन्छ । म गायक बन्नुको कारण पारि त्यो डाँडामा बोलको गीत हो । पारी त्यो डाँडामा बोलको गीतमा आवाज दिने मान्छेको खोजीमा थिएँ म । नभेटे पछि आफैले रेकर्ड गरेँ । सबैबाट राम्रो छ भन्ने प्रतिक्रिया आए अनि आफ्नै आवाजमा गीत सार्वजनिक भयो । यो मेरो दोश्रो गीत थियो तर धेरै तयारी पूर्वक रेकर्ड भएको भने पहिलो पटक हो । धेरैले मन पराउनु भयो । गीतको भिडियो पनि अमेरिका, पेरिस, अष्ट्रेलियाबाट बनाउन थाल्नु भयो ।
धरान, सिक्कीमबाट पनि भिडियो बनाउनु भयो । मेरो गीत नै धेरै चल्यो आफैलाई अचम्म लाग्यो । किन भने मेरो पहिलो रेकर्डको गीत त म आफैलाई मन नपरेको कारण म संगीतमा लागेको थिएँ । एकाएक आफ्नै आवाज हिट हुँदा त अचम्म अनि खुसी दुबै मिल्यो । पहिलाको गीत पनि राम्रो भएन अब यो (निर जहिले रिसाउनी) कस्तो हुने हो भन्ने लागेको थियो । तर सबैले माया गर्नुभयो । अहिले चै फेरि गायनमा पनि लागि रहको छु ।
गीतको अफर धेरै आउन थाल्यो
त्यो गीत पछि रेकर्डिङको लागि धेरैको अफर आउन थाले । अब सबैतिर समय दिन भ्याइन्न । अनि केही गीतलाई मैले नाई नभन्ने गरेको छु । मैले गायको गीत अरुभन्दा भिन्दै हुन्छ । मेरो शैलीमा अरु कोहीले पनि गाउन सक्नुहुन्न । किन भने भाव, मर्म सबैले बुझेको हुन्न । फरक व्यक्ति, फरक भाषा, फरक सँस्कृति हो मैले फरकपनको गीत गाउनुको आधार ।
संगीतमा त्यो पनलाई ल्याउन सकियो भने मात्र संगीतको मज्जा हुन्छ । तर संगीत दिनु र गीत गाउनुले मात्र कुनै पनि फरकपन दिन्न । सबैमा एउटै शैली भयो भने त्यो संगीत र गायनमा मज्जा हुन्न । मैले बनाएको गीत, चल्छकी चल्दैन भन्ने कुरा मलाई बनाउने क्रममा नै थाहा हुन्छ । सबै कुरालाई मिलाउन सकियो भने त्यो गीत पक्कै चल्छ ।
मेरो गीत सबै मेरो लेखन हो
मैले गायका गीतहरु सबै मेरो आफ्नै शब्द रहेको गीत हो । अहिलेसम्म गीतकै कारण धेरै देशमा पुग्ने मौका पाएको छु । हङकङ, अष्ट्रेलिया, अमेरिका अनि नेपालको पनि धेरै ठाँउमा पुगेको छु । नेपाल झनै सुन्दर छ । नेपालको सबै ठाँउको फरक फरक विषेशता छ । मलाई नेपालको मन नपर्ने ठाँउ भनेको काठमाडौं हो तर त्यही बस्नुपर्ने बाध्यता पनि छ । काठमाडौंबाट बाहिर निस्कने वित्तिकै मनमा शान्ति हुन्छ ।
नेपालमा संगीत गर्ने तरिकामा परिवर्तन भएको छ
पछिल्लो समय नेपालको संगीतमा पनि धेरै कुराहरु परिवर्तन भएको पाइन्छ । नयाँपन भेटिन्छ । संगीत भर्ने तरिका, गीत गाउने तरिका सबै कुरामा नयाँपन पाउन थालेको छ । गीतहरुमा पनि मौलिकता भेटिन थालेको छ । जुन कुरा अहिलेको समुदायको खोजीको विषय हो । नेपाली गीत संगीतमा मौलिकताले हामीलाई जोगाउँछ । हामीले अंग्रेजी, हिन्दी गीत गाउदा चल्दैन । तर नेपालमा सुन्नेको जमातको भने कमी छैन ।
अहिले नेपालको संगीतको बारेमा समग्र भन्नु पर्दा राम्रो हुदै गइरहेको छ । नेपाली संगीतलाई भारतीय अथवा पश्चिमेलीपनले खासै असर गर्दैन । इन्टरनेटको दुनियाँमा संसारनै सानो बनाएको बेलामा आफूलाई मनपर्ने गीत सुन्ने हो । तर आफ्नोपनले हामीलाई कहिले पनि पछि पार्दैन । सधै जोगाइ रहन्छ । अर्काको नक्कल गरेर बनाइएको गीतलाई पनि दर्शक आफैले छुट्याउने हो । सुन्ने त सक्कली गीत नै हो ।
लुट टु को आइटम गीत काठे भाका हो
गीत गाउने रहर मेरो सानैदेखिको हो । पहिलो नै फ्लप भयो कति भन्नु । मलाई भगवानले गाउनको लागि पठाएको होइन भन्ने लाग्यो तर संगीत छोड्न सकिन । संगीतमै लागिरहेँ । निरन्तर काम गर्दा गर्दै आफ्नो रहर र इच्छा पूरा हुने दिन पक्कै आउँछ भन्ने मलाई लाग्न थालेको थियो । आवाज त मेरो पहिला पनि यस्तै थियो तर मैले गलत खालको अर्थात संगीत नबुझेको कारण मेरो आवाजलाई नसुहाउने गीत गाएको कारण मलाइ नै मन नपरेको हो भन्ने अहिले बुझेको छु ।
अहिले पारि त्यो डाँडामा गीत हिट भएपछि मलाई अब नेपाली संगीत क्षेत्रमा मेरो आवाजलाई पनि ठाउँ मिल्ने रैछ भन्ने लागेपछि गीत गाउन लागेको हो । अनि अहिले बजारमा धेरै चलेको चलचित्र लुट टुको आइटम गीत मैले नै बनाएको हो । नेपाली चलचित्रमा पनि आइटम डान्समा हिन्दीको रहनसहन धेरै भएको निर्देशक निश्चल बस्नेतको कुरा आएपछि हाम्रो नेपाली गीतलाई पनि आइटम डान्स बनाउन सकिन्छ भनेर काठे भाकाको दोहोरीलाई आइटम गीत बनाएको हो ।
काठे भाका भनेको काठमाडौं वरिपरी चल्ने भाका हो । लुट हेरेपछि मैले यो गीत लेखेको हो । यो गीतमा टिपिकल नेपाली शब्द राखिएको छ ।
अब गाउँ घरमा आमा, बाबाले त ट्याक्सी भन्न त आउँदैन अनि उहाँहरुले ट्याउसी भनेको सुनेर नै मैले यो शब्द राखेको हो । मेरो गीतमा धेरैजसो फरक आवाज भएका कलाकाहरु छन् । संगीत क्षेत्रमा गायनको क्रममा खोजेको जस्तो कलाकार पाइन्न भन्छन् तर त्यस्तो होइन । कलाकार छन् तर वास्ता गरिँदैन । तर म त्यो वास्ता नगर्ने कलाकारहरुलाई नै वास्ता गर्छु अनि मेरो गीतमा नयाँपन आउँछ ।
फोटो हेरेको भरमा विवाह भयो
मेरो मागी विवाह भएको हो । मैले विवाह गर्ने समयमा अहिलेको जस्तो इन्टरनेटको खासै सुविधा थिएन । फोन थिएन । भेटेर कुरा गर्ने, घुम्न जाने मौका कहाँ थियो र । परिवारबाट हेरिएको केटीसँग नै मेरो विवाह भएको हो । मेरी श्रीमतीलाई देखेको भनेको फोटोमा नै हो । त्यसपछि विवाहको कुरा पक्का गरियो । अहिलेसम्म राम्रो नै छ हाम्रो लाइफ । सँगै बसेपछि कहिले काहीँ सामान्य झगडा त हुन्छ तर गीत गाएर फकाउनु पर्ने अवस्था चै आएको छैन । संगीतमा पैसा भन्दा पनि नाम पाइन्छ । संगीतबाट नै मेरो परिवारलाई खुसी दिन सकिरहेको छु ।
उज्यालो र forseenetwork.com को सहकार्य
संगीतकार कालीप्रसाद बास्कोटा अहिले सफल रचनाकार साथै गायक

File Photo/THT