सरिता सापकोटा सर्लाही पुस ११-गत शुक्रवार सर्लाहीको बरहथवामा भएको मालिक महतोको हत्यामा संलग्न मध्य दुई जनालाई प्रहरीले सार्वजनीक गरेको छ । फरार अर्काएक अभियुक्तको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले मंगलवार सर्लाहीको बरहथवा नगरपालिका स्थित ईलाका प्रहरी कार्यलयमा पत्रकार सम्मेलन गरी उनिहरुलाई सार्वजनीक गरेको हो । प्रहरीले हत्यामा संलग्न भएको भन्दै मृतक मालिक महतोको नातामा भिनाजु पर्ने ब्यवसायीक साझेदार सर्लाहीको बरहथवा नगरपालिका–५ निवासी ३० बर्षका धनेश्वर महतो र बागमती नगरपालिका ८ का २६ बर्षका रबिन्द्र महतोलाई पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरीले घटनामा प्रयोग भएको हतियार रगत लागेको कपडा र ना ५२ प ७१४८ नम्बरको मोटरसाईकल समेत बरामद गरेको छ ।
मृतक मालिक र धनेश्वरले हरिवनमा जग्गा किनबेचको काम गर्दै आएका थिए । जग्गा खरिद बिक्रीबाट आएको नाफा एकलौटी बनाएको रिसमा मालिकको हत्या गरेको धनेश्वरले बयान दिएको प्रहरीले जनाएको छ । विगत ६ महिनादेखी धनेश्वर महतोले मालिक महतोको हत्याको योजना बनाएको अनुसन्धान बाट खुलेको छ । मालिक महतोको हत्याको लागी धनेश्वरले रबिन्द्र महतो र अर्का एक ब्यक्तीलाई तिन हजार दिएको प्रहरीलाई बयान दिएको हो ।
निजि बिद्यालयका संचालक तथा शिक्षक समेत रहेका बरहथवा नगरपालिका ५ का ३० बर्षका मालिक महतोको सनिवार विहान घर भन्दा केही पर सोती खोला किनारमा धारिलो हतियारले टाउकोमा हानी विभत्स हत्या गरेको अवस्थामा शव फेलापरेको थियो । शुक्रबार साझबाट कसैले भेट्न बोलाएको भन्दै घरबाट हिडेका महतो सनिवार मात्र मृत फेलापरेका थिए । घटना लगतै शुस्म अनुसन्धान सुरुगरेको प्रहरीले ४ दिनपछि घटनामा संलग्नलाई सार्वजनिक गरेको हो ।