सर्लाही–श्रावण १८,सर्लाही सदरमुकाम मलंगवाबाट पश्चिमपर्ने बलरा नगरपालिकामा एक मदिरा पसल सञ्चालकको हत्या भएको छ ।
भारतीय सीमा क्षेत्र नजिक मदिरा पसल सञ्चालन गर्दै आएका बलरा नगरपालिका ३ का ६५ वर्षीय जुगल साहको हत्या भएको प्रहरीले जनाएको छ । बलरा नगरपालिका ४ मा सञ्चालन गरेको मदिरा पसलमा बिहिवार बिहान साहको शव फेला परेको हो । मृतकको घाँटी र पाखुरामा निलडाम देखिएको घटनास्थलमा पुग्नु भएका सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले बताउनुभयो ।
बिहिवार बिहान पसल खोल्न जाँदा पछाडिपट्टिको कोठामा बुवाको शव फेला परेको जुगलका छोरा बिनोद साहले जानकारी दिनुभयो । उहाँले घटनाको सुक्ष्म ढंगले अनुसन्धान गर्न आग्रह गर्नुभयो । छोराहरु बेलुका पसल बन्द गरेर घर फर्किएपछि साह एक्लै पसलमा सुतेका थिए । घटनास्थल भन्दा करिव ७ सय मिटर टाढा मानव बस्ती छ । साहको हत्या भएको स्थानमा एउटा मदिरा र एउटा होटल सञ्चालनमा छ । होटल सञ्चालक पनि राती होटल बन्द गरेर घर गएका थिए ।
घटनास्थल नेपाल भारत सीमा दशगजाबाट करिव डेढ सय मिटर वारी पर्छ । साह परिवारले विभिन्न शिल प्याक मदिरा खुद्रा तथा थोक बिक्री गर्दै आएका स्थानीयले बताएका छन् । मृतकको शव बिहिवार मध्यान्ह पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम मलंगवा स्थित सर्लाही अस्पताल ल्याइएको छ ।