ललितपुर, १८ मंसिर । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष एवम् पूर्वमन्त्री बद्र्रीप्रसाद न्यौपानले सरकारले तराई र पहाड टुक्र्याउने गरेर सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विरोधमा भइरहेका आन्दोलनप्रति समर्थन जनाउनु भएको छ ।
ललितपुरको गोदावरीमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष न्यौपानेले संविधान संशोधनको राष्ट्रघाती प्रस्ताव तुरुन्त फिर्ता गर्न माग गर्नुभयो ।
‘मधेसी मोर्चालाई मात्रै खुसी बनाउने कामको चुरेभावर पार्टीलाई स्वीकार्य छैन’, उहाँले भन्नुभयो, ‘सदिऔँदेखि मिलेर बसेका तराई र पहाडका जनतालाई विभाजन गर्ने काम कदापि गर्नु हुँदैन ।’
संविधान संशोधनको प्रस्तावको विरोधमा पाँच नम्बर प्रदेशका विभिन्न जिल्लाहरूमा आन्दोलन चर्किरहेका बेला चुरेभावर पार्टीले आन्दोलनप्रति समर्थन जनाउँदै सो प्रस्तावको कडा विरोध गरेको हो ।
मधेसी मोर्चाले तराई र पहाडी जिल्लाहरू टुक्र्याएर राष्ट्रिय अखण्डतामाथि चुनौती दिन खोजेको भन्दै अध्यक्ष न्यौपानेले भन्नुभयो, ‘मुलुकलाई बिखण्डनतर्फ लैजाने कुनै पनि षड्यन्त्रको चुरेभावर पार्टीले प्रतिकार गर्नेछ ।’
उहाँले हिन्दी भाषालाई सम्पर्क भाषा बनाउने षड्यन्त्र भइरहेको आरोप पनि लगाउनुभयो । ‘हिन्दी भाषालाई अहिले संविधानको अनुसूचीमा राखेर पछि सम्पर्क भाषा बनाउने षड्यन्त्र भइरहेको छ । यसलाई सफल हुन दिने छैनौँ ।’
संविधान संशोधनको राष्ट्रघाती प्रस्ताव तुरुन्त फिर्ता गर्न अध्यक्ष न्यौपानेको माग
