काठमाडौं, मंसिर १७ – शाही युवा शक्ति नेपालले विदेशीको इशारामा चोरबाटोबाट ल्याइएको गणतन्त्र खारेज नगरेसम्म नेपाल र नेपालीको भविष्य अन्यौलमा नै रहने भन्दै गणतन्त्र खारेजीको माग गरेको छ ।
शुक्रबार रिपोर्टर्स क्लबमा शाही युवा शक्ति नेपालले राजसंस्था नै नेपालको इतिहास भएकोले राजसंस्थालाई पाखा लगाएर नयाँ नेपाल बन्नै नसक्ने समेत ठोकुवा गरेको छ । राजसंस्था नभए देशको राष्ट्रियता पनि खतरामा पर्ने शाही युवा शक्ति नेपालको बुझाई छ ।
शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले राजसंस्थाले एकीकरण गरेको नेपाल अहिले गणतन्त्रको हिमायतीले टुक्राउने तर्फ अघि बढेको रहेको आरोप लगाउनुभयो । ‘नयाँ नेपाल बनाउने निहुँमा इतिहासलाई मेट्ने काम भएको छ, नेपालको राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, राष्ट्रियता गुम्ने खतरा बढेर गएको छ, नेपाली जनताको चाहना विपरित विदेशीको इशारामा गणतन्त्र, धर्म निरपेक्षता र संघीयता जबर्जस्ती लाद्ने काम भएको छ, यो हामीलाई किमार्थ मान्य छैन’ उहाँले भन्नुभयो ।
उहाँले नेपालको विद्यमान समस्याको जड नै गणतन्त्र भएको बताउँदै त्यसलाई जरैबाट उखलेर फालेपछि समस्याको समाधान हुने दाबी गर्नुभयो । ‘अब पनि जनता सुतेर बस्ने हो भने देशले दुःख पाउँछ, हाम्रो राष्ट्रियता खतरामा पर्छ, अब जागौं, असफल गणतन्त्रको विरोध गरौं, राजतन्त्र पूर्नवहाली गरौं’ उहाँले भन्नुभयो ।
शाही युवा शक्तिले राजतन्त्र पूर्नस्थापना र गणतन्त्रको खारेजीको लागि पहिलो चरणको उपत्यका केन्द्रित आन्दोलनसमेत घोषणा गरेको छ । शाही युवा शक्ति नेपालले अघि सारेको आन्दोलन अनुसार पुस १ गते गणतन्त्र खारेजीको माग गर्दै दरबारमार्गमा महेन्द्र स्मृति दिवस भव्य रुपमा मनउने, उपत्यकाको १५ वटा चुनावी क्षेत्रमा असफल गणतन्त्रको विरोध सभा गर्ने, पहिलो विरोध सभा काठमाडौं क्षेत्र नम्बर ३ जोरपाटी चोकमा गर्ने र पुष २६ गते पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा घोषणा गर्न जनदवावमूलक कार्यक्रमहरु गर्ने जनाएको छ ।